September 15, 2026

इजरायलद्वारा धादिङका बाढीपीडितलाई पहिलो चरणको राहत, थप सहयोग गर्ने प्रतिबद्धता

धादिङ। इजरायलले धादिङको गल्छी गाउँपालिका-६, बैरेनीका बाढी प्रभावित परिवारलाई आपत्कालीन मानवीय सहायता उपलब्ध गराएको छ । नेपालस्थित इजरायली दूतावासले विनाशकारी बाढीबाट प्रभावित समुदायलाई तत्काल आवश्यक सामग्रीसहितका ‘इमर्जेन्सी गो–ब्याग’ तथा राहत सामग्री हस्तान्तरण गरेको हो।

इजरायली दूतावासकी उपप्रमुख जनान बेबार शुक्रबार बैरेनी पुग्नुभएको थियो । उहाँले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै प्रभावित व्यक्ति तथा परिवारलाई आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

दूतावासका अनुसार यो राहत सहयोग आपत्कालीन उद्धार तथा राहत प्रतिक्रियाको पहिलो चरण हो। बाढीबाट प्रभावित समुदायको तत्कालीन आवश्यकता पहिचान गर्न दूतावासले सम्बन्धित नेपाली सरकारी निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।

इजरायली दूतावासकी उपप्रमुख जनान बेबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै प्रभावित व्यक्ति तथा परिवारलाई आवश्यक सामग्री हस्तान्तरण गर्दै । तस्वीरः इजरायली दूतावास

प्रभावित क्षेत्रको आवश्यकता मूल्यांकन गर्दै थप सहायता दिने तयारी

आवश्यकता थप पहिचान हुँदै जाँदा आगामी दिनमा थप राहत तथा मानवीय सहायता उपलब्ध गराइने दूतावासले जनाएको छ।

नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासले विपत्तिको यस कठिन समयमा इजरायल नेपाली जनताको साथमा रहेको बताउनुभएको छ ।

“नेपाली जनताको यस कठिन समयमा इजरायल साथमा छ । बाढीबाट प्रभावित सबैप्रति हाम्रो चिन्ता र सहानुभूति छ,” राजदूत बासले भन्नुभयो, “यो प्रारम्भिक सहयोगले प्रभावित समुदायलाई तत्काल केही राहत पुर्‍याउने हाम्रो आशा छ । संकटको सामना गरिरहेको नेपाललाई सहयोग गर्न इजरायल प्रतिबद्ध छ।”

दूतावासले बाढी प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धारमा खटिएका नेपाली सेना, सरकारी निकाय, उद्धारकर्मी, स्वयंसेवक तथा पहिलो प्रतिकार्यमा संलग्न सबैप्रति धन्यवाद तथा समर्थन व्यक्त गरेको छ।

बाढी तथा आकस्मिक जलप्रवाहका कारण धादिङसहित देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको अवस्थामा इजरायलको पछिल्लो सहयोगले प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री जुटाउन केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *