July 30, 2026

मध्यपूर्वमा स्थायी शान्तिका लागि संवादमा तयार : इजरायली राजदूत

नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास

काठमाडौं । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायल मध्यपूर्वमा स्थायी शान्तिको पक्षमा रहेको उल्लेख गर्दै क्षेत्रीय स्थिरता र विकासका लागि छिमेकी देशहरूसँग संवाद गर्न इजरायल तयार रहेको बताउनुभएको छ ।

उहाँले इजरायलले विगतमा हमासहिजबुल्लाह जस्ता अतिवादी समूहबाट बारम्बार आक्रमणको सामना गर्दै आएको दाबी गर्दै यी समूहहरूलाई इरानले समर्थन तथा वित्तीय सहयोग गर्ने गरेको आरोप लगाउनुभयो ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राजदूत बासले इजरायलको उद्देश्य इरानी सर्वसाधारण नागरिकलाई हानि पुर्‍याउने नभई वर्तमान इरानी नेतृत्वको नीतिलाई चुनौती दिनु रहेको दाबी गर्नुभयो । उहाँले इरानका सर्वोच्च नेता अली खामेनीको नेतृत्व क्षेत्रीय तथा विश्वकै सुरक्षाका लागि खतरा भएको टिप्पणी गर्नुभयो।

राजदूत बासले हालै अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हवाई कारबाही इरानको परमाणु कार्यक्रमबाट उत्पन्न खतरा नियन्त्रण गर्ने उद्देश्यले गरिएको बताउनुभयो । उहाँका अनुसार इरानको परमाणु क्षमता मध्यपूर्व मात्र नभई अन्तर्राष्ट्रिय सुरक्षाका लागि समेत चिन्ताको विषय बनेको छ। प्रस्तुतिका क्रममा उहाँले इरानको प्राविधिक तथा सैन्य क्षमताबारे विभिन्न तथ्यांक प्रस्तुत गर्दै इरानले विज्ञान, प्रविधि र इन्जिनियरिङ क्षेत्रमा ठूलो संख्यामा जनशक्ति उत्पादन गरिरहेको बताउनुभयो ।

उहाँले इरानको मिसाइल उत्पादन क्षमता तथा मध्यपूर्वका विभिन्न सशस्त्र समूहहरूलाई आर्थिक तथा सैन्य सहयोगले क्षेत्रीय अस्थिरता बढाएको आरोप लगाउनुभयो।

राजदूत बासले इजरायल आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्दै मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापना गर्ने प्रयासमा प्रतिबद्ध रहेको बताउनुभयो।

नेपालको लोकतान्त्रिक प्रक्रियाको प्रशंसा गर्दै इजरायलको बधाई

नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा इजरायलले बधाई दिएको छ । इजरायलले यसलाई नेपालको लोकतान्त्रिक प्रक्रियालाई थप सुदृढ बनाउने महत्वपूर्ण उपलब्धि भएको बताएको छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले नेपालले लोकतान्त्रिक अभ्यासलाई सफलतापूर्वक अघि बढाएको भन्दै प्रशंसा गर्नुभयो।

“नेपालले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको छ। यसका लागि हामी नेपाल सरकार र नेपाली जनतालाई बधाई दिन चाहन्छौँ,” राजदूत बासले भन्नुभयो।

The Dawn of a New Middle East” शीर्षकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले इजरायल नेपालसँगको द्विपक्षीय मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन इच्छुक रहेको बताउनुभयो । उहाँका अनुसार विकास, प्रविधि तथा विभिन्न क्षेत्रहरूमा नेपाल-इजरायल सहकार्य विस्तार गर्ने सम्भावना रहेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *