July 31, 2026

प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ

समितिको बैठकमा–सुनवाई काठमाडौँ, १६ भदौः सङ्घीय संसदअन्तर्गत आइतबार सिंहदरबारमा संसदीय सुनवाई समितिमा डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरसँग सुनवाई गर्दै । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले रुसी महासङ्घ, साउदी अरब, दक्षिण अफ्रिका र दक्षिण कोरियाका लागि प्रस्तावित नेपाली राजदूतको सुनुवाइ गरेको छ ।

समितिले प्रस्तावित राजदूत क्रमशः जङ्गबहादुर चौहान, नरेशविक्रम ढकाल, प्रा डा कपिलमान श्रेष्ठ र डा शिवमाया तुम्वाहाम्फेको संसदीय सुनुवाइ गरेको हो । गत साउन १४ गतेको मन्त्रिपरिषद्ले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा नाम पठाएको थियो ।

समितिको बैठकमा प्रस्तावित राजदूतले आआफ्नो शैक्षिक योग्यता, अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै नेपाल र जिम्मेवारीका लागि प्रस्ताव गरिएका मुलुकबीचको सम्बन्ध, उच्चस्तरीय भ्रमण आदानप्रदान, लगानी, व्यापार, पर्यटन, सहयोग तथा निर्यातका सम्भावित क्षेत्रबारे समितिलाई जानकारी गराउनुभयो ।

त्यसअवसरमा साउदी अरबका लागि प्रस्तावित राजदूत ढकालले ४६ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको साउदी पछिल्लो समय नेपालको महत्त्वपूर्ण श्रम गन्तव्य रहेको हुँदाले अहिले त्यहाँ करिब चार लाख नेपाली श्रमिक रहेको अनुमान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक, शैक्षिक, सांस्कृतिक र जनस्तरमा दुई देशबीच सम्बन्ध सुदृढ हँुदै गएको छ । साउदीबाट उच्चस्तरको भ्रमण, समयसापेक्ष श्रम सम्झौता नवीकरण र आफ्नै दूतावास भवन निर्माणलाई प्राथमिकतामा दिइनेछ ।”

स्थानीय कानुनबारे जानकारी नहुँदा र विभिन्न घटनामा संलग्न भएको आरोपमा अहिले त्यहाँ करिब छ सय नेपाली जेलमा रहेको जानकारी दिँदै उहाँले नेपालको भन्दा फरक हावापानीकारण पनि त्यहाँका जाने नेपालीले शास्ती खेप्न परेकाले श्रमिकलाई जनचेतनाका कार्यक्रम आवश्यक रहेको जानकारी दिनुभयो ।

दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा डा श्रेष्ठले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त, नेपालको आत्मसम्मान र राष्ट्रिय हितलाई सर्वाेपरि राखेर आफूले जिम्मेवारी बहन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र दक्षिण अफ्रिकाले द्वन्द्वपछि शान्ति स्थापनाका लागि गरेका प्रयास विश्वका लागि उदाहरणीय छ । नेपालले त्यहाँबाट लिन सक्ने लाभका क्षेत्र पहिचान गरी उच्चस्तरीय भ्रमण, पर्यटन प्रवर्द्धन र लगानी भ्यिाउन कोसिस हुनेछ ।”

दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत डा तुम्वाहाम्फेले नेपाल र कोरियाबीच कूटनीति, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा निकट र प्रगाढ सम्बन्ध रही आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाल दक्षिण कोरियामा ६९ हजार चार सय ३८ नेपाली श्रमसहित विभिन्न पेसा व्यवसायमा संलग्न छन् । त्यस्तै, करिब तीन सय कोरियन पनि नेपालमा पेसा–व्यवसाय गरिरहेका छन् । नेपालमा जलविद्युत्, निर्माण र सेवाका क्षेत्रमा कोरियाले लगानीका लागि चासो देखाएको छ ।”

यसैबीच, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको संसदीय सुनुवाइ बाँकी नै छ । स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराईको पनि संसदीय सुनुवाइ केही दिनभित्रै हुनेछ । यसअघि भारत, चीन, डेनमार्क, जर्मनी, इजरायल, मेलेसिया, पाकिस्तान, पोर्चुगल र कतारका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भइसकेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *