July 30, 2026

नेपालसँग इजरायलको ट्रमा तथा आपतकालीन स्वास्थ्य सेवामा विशेषज्ञता साझेदारी

काठमाडौं । नेपालस्थित इजरायल दूतावासको सहजीकरणमा इजरायल पुरस्कारबाट सम्मानित तथा प्रख्यात ट्रमा एवं आपतकालीन चिकित्सा विशेषज्ञ प्रो. डा. अव्राहाम रिभकिन्डले फेब्रुअरी १६–१८ सम्म नेपालको औपचारिक भ्रमण गर्नुभएको छ।  भ्रमणका क्रममा उहाँले ट्रमा उपचार, सामूहिक दुर्घटना व्यवस्थापन तथा विपद् प्रतिकार्यसम्बन्धी इजरायलको अनुभव र उत्कृष्ट अभ्यासहरू नेपाली स्वास्थ्यकर्मीहरूसँग साझा गर्नुभयो।

उहाँले वीर अस्पताल, राष्ट्रिय ट्रमा केन्द्र, धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय अस्पताल तथा पाटन अस्पतालमा व्यावसायिक अन्तरक्रिया गर्नुभएको थियो। साथै देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई समेट्दै भर्चुअल सत्रसमेत सञ्चालन गर्नुभयो।

इजरायल पुरस्कार विजेता प्रो. डा. अव्राहाम रिभकिन्डको तीनदिने भ्रमण; अस्पताल, प्राधिकरण र उच्चस्तरीय नेतृत्वसँग सहकार्यका विषयमा छलफल

भ्रमणका क्रममा उहाँले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का पदाधिकारीहरूसँग भेटघाट गरी विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र सुदृढीकरणबारे छलफल गर्नुभयो। त्यस्तै, काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोल र राष्ट्रिय सभा सदस्य तथा पूर्व राजदूत डा. अञ्जन शाक्यसँग पनि शिष्टाचार भेटवार्ता गर्दै भविष्यमा स्वास्थ्य सहकार्य विस्तारका सम्भावनाबारे विचार आदान–प्रदान गर्नुभयो।

प्रो. रिभकिन्डले नेपालमा तालिमप्राप्त स्वयंसेवकद्वारा सञ्चालन हुने बाइक-एम्बुलेन्स प्रणालीमार्फत पूर्व–अस्पताल आपतकालीन सेवा सुदृढीकरणमा सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको छ।

सो अवसरमा नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले यस पहलले नेपाल-इजरायल द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

स्मरणीय छ, रिभकिन्ड यसअघि अन्नपूर्ण हिमपहिरोका बेला उद्धार कार्यमा सहभागी हुनुभएको थियो। साथै २०१५ को गोरखा भूकम्पपछि इजरायलले २६० सदस्यीय फील्ड अस्पताल टोली परिचालन गरी करिब २,००० बिरामीको उपचार तथा ७० भन्दा बढी शल्यक्रिया सम्पन्न गरेको थियो ।

 

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *