July 30, 2026

नेपाल-इजरायल श्रम सम्झौता यथावत्, नयाँ प्रोटोकल समीक्षा प्रक्रियामा

काठमाडौं, फागुन १ । नेपालस्थित इजरायल दूतावासले नेपाल–इजरायलबीच सन् २०२० मा सम्पन्न श्रम सम्झौता हालसम्म प्रभावकारी रहेको स्पष्ट पारेको छ। हालै केही सञ्चारमाध्यममा प्रकाशित समाचारहरूमा देखिएको भ्रमपूर्ण सूचनाप्रति दूतावासले स्पष्टिकरण दिएको हो।

दूतावासद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार ३० सेप्टेम्बर २०२० मा यरुशलेममा नेपाल र इजरायल सरकारका प्रतिनिधिहरूबीच उक्त श्रम सम्झौता हस्ताक्षर गरिएको थियो। सम्झौता प्रारम्भिक रूपमा तीन वर्षका लागि भए पनि त्यसपछि प्रत्येक एक वर्षका लागि स्वतः नवीकरण हुने व्यवस्था रहेको छ। कुनै एक पक्षले औपचारिक रूपमा अन्त्यको माग नगरेसम्म सम्झौता कायम रहने दूतावासले जनाएको छ।

सम्झौताअन्तर्गत “जेरियाट्रिक संस्थामा केयरगिभिङ” सम्बन्धी पहिलो प्रोटोकल नेपाल सरकारको वैदेशिक रोजगार विभाग (DOFE) र इजरायलको जनसंख्या तथा आप्रवासन प्राधिकरण (PIBA) बीच कार्यान्वयनमा आएको छ। यस प्रोटोकलमार्फत हजारौं नेपाली कामदार हाल इजरायलमा कार्यरत रहेका छन्। सोही प्रोटोकलअन्तर्गत नयाँ समूहका कामदार भर्ना गर्ने विषयमा दुवै देशबीच वार्ता जारी रहेको जनाइएको छ।

गत वर्षको प्रारम्भमा दूतावासले ‘घरमै आधारित स्याहार सेवा’ र ‘कृषि कामदार (विद्यार्थी बाहेक)’ सम्बन्धी दुई नयाँ मस्यौदा प्रोटोकल नेपाल सरकारसमक्ष पेश गरेको थियो। नेपाल सरकारद्वारा केही संशोधनसहित ती प्रोटोकलहरू स्वीकृत गरिएको जनाइएको छ। संशोधित प्रस्ताव प्रारम्भिक मस्यौदाभन्दा फरक भएकाले अन्तिम स्वीकृतिपूर्व इजरायल पक्षले आन्तरिक समीक्षा गरिरहेको दूतावासले जनाएको छ।

त्यसैगरी ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत तेस्रो वर्षका कृषि विद्यार्थीहरूलाई इजरायलका कृषि शैक्षिक संस्थाहरूमा व्यावहारिक अनुभव हासिल गर्ने अवसर प्रदान गरिँदै आएको छ। तर नेपालका पूर्व साझेदार विश्वविद्यालयहरूले कार्यक्रम नवीकरणमा अनिच्छा देखाएकाले वैकल्पिक विश्वविद्यालय तथा कलेजसँग सहकार्यका लागि पहल भइरहेको दूतावासले उल्लेख गरेको छ।

दूतावासले शिक्षा, कृषि, रोजगारी लगायत विभिन्न क्षेत्रमा नेपाल–इजरायल सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ।


Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *