August 1, 2026

काठमाडौँमा होलोकास्ट स्मरण समारोह सम्पन्न, मानव अधिकार र मानवीय गरिमामा जोड

काठमाडौँ । नेपालस्थित इजरायली दूतावासले संयुक्त राष्ट्रसंघद्वारा घोषित अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसको अवसरमा सोमबार काठमाडौँमा “जिकारोन बा–सलोन (Zikaron BaSalon) – मेमोरी इन द लिभिङ रुम” शीर्षकमा  स्मरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कूटनीतिक समुदाय, नेपाल सरकारका उच्च पदाधिकारी, मानव अधिकारकर्मी, सञ्चारकर्मी तथा इजरायलका मित्रहरूको सहभागिता रहेको थियो।

यस वर्षको विश्वव्यापी मूल नारा “मानव गरिमा र मानव अधिकारका लागि होलोकास्ट स्मरण” अन्तर्गत आयोजित कार्यक्रममा होलोकास्टका क्रममा योजनाबद्ध रूपमा हत्या गरिएका ६० लाख यहूदीहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिएको थियो। वक्ताहरूले इतिहासका पीडादायी अध्यायहरूलाई स्मरण गर्नु केवल अतीतको सम्झना मात्र नभई वर्तमान र भविष्यका लागि घृणा, विभेद र यहूदीविरोधी सोचका विरुद्ध उभिनुपर्ने साझा दायित्व भएको उल्लेख गर्नुभयाे ।  

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि इजरायलका राजदूत महामहिम श्मुलिक आरिए बासले होलोकास्ट मानव इतिहासकै सबैभन्दा अन्धकारमय अध्यायमध्ये एक भएको उल्लेख गर्दै जातीय घृणा र सम्पूर्ण समुदायलाई समाप्त पार्ने विचारधाराहरू कति विनाशकारी हुन सक्छन् भन्ने चेतावनी दोहोर्‍याउनुभयाे। उहाँले स्मरणलाई शिक्षा, नैतिक जिम्मेवारी र मानवताको रक्षा सँग जोडेर हेर्नुपर्ने बताउनुभयाे ।

त्यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय टोपबहादुर मगरले होलोकास्टका पीडितहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दोस्रो विश्वयुद्धपछिका अन्तर्राष्ट्रिय मानव अधिकार कानुनहरूको विकासमा उक्त त्रासदीले गहिरो प्रभाव पारेको उल्लेख गर्नुभयाे। उनले विश्व शान्ति, सहिष्णुता र समानतामा आधारित समाज निर्माणका लागि यस्ता स्मरण दिवसहरूको महत्त्व औँल्याउनुभयाे । कार्यक्रममा जर्मनीका राजदूत महामहिम उडो फोल्ज र अस्ट्रेलियाका राजदूत-नामित महामहिम साइमन अर्न्स्टले पनि आफ्नो मन्तव्य राख्दै होलोकास्ट स्मरणको विश्वव्यापी सान्दर्भिकतामाथि प्रकाश पार्नुभयाे।

कार्यक्रमको विशेष आकर्षणका रूपमा होलोकास्टबाट बाँच्न सफल सोफिया गेलरको व्यक्तिगत अनुभव समेटिएको भिडियाे संस्मरण प्रस्तुत गरिएको थियो, जसले उपस्थित सबैलाई भावुक बनाएको थियो। साथै दुई नेपाली विद्यार्थीहरूको सङ्गीत प्रस्तुति र स्वतन्त्रता र जीवनको उत्सव मनाउँदै आएका होलोकास्ट जीवित साक्षी श्री डुगोको भिडियो सन्देश पनि प्रदर्शन गरिएको थियो।

कार्यक्रमको अन्त्यमा इजरायली दूतावासले होलोकास्ट शिक्षा प्रवर्द्धन र शान्ति, पारस्परिक सम्मान तथा मानव गरिमाका विश्वव्यापी मूल्यहरूलाई सुदृढ बनाउन आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको थियो। जीवित साक्षीहरूको सङ्ख्या क्रमशः घट्दै गइरहेका सन्दर्भमा अबको पुस्तामा इतिहासका पाठहरू हस्तान्तरण गर्नु अझ महत्वपूर्ण बन्दै गएको सन्देश पनि कार्यक्रममा जोड दिइएको थियो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *