काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीकी आमा र बहिनीले आज परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटेर विपिनको रिहाइका लागि थप पहल गर्न आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँहरूले नेपाल सरकारले अहिलेसम्म गरेको प्रयासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता दिन अनुरोध गर्नुभएको हो।
परराष्ट्र मन्त्रालयको पहल र नेपालस्थित इजरायली राजदूतावासको समन्वयमा विपिनकी आमा र बहिनी हालै इजरायल जानुभएको थियो। त्यहाँ उहाँहरूले विपिनको अवस्थाबारे जानकारी लिनुका साथै इजरायली सरकारसँग रिहाइका लागि अपिल पनि गर्नुभएको थियो। इजरायलबाट फर्किएपछि आज उहाँहरूले मन्त्री राणालाई भेटेर आफ्नो यात्राबारे जानकारी गराउनुभएको हो ।
भेटका क्रममा मन्त्री राणाले विपिनको रिहाइका लागि सरकारले सबै कूटनीतिक प्रयत्नहरू गरिरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “उहाँहरूको आग्रहअनुसार नै विपिनको रिहाइका लागि सरकारले आगामी दिनमा थप सशक्त पहल गर्नेछ।” यसअघि पनि मन्त्री राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मञ्चहरू र विभिन्न देशका विदेशमन्त्रीहरूसँगको भेटमा विपिनको रिहाइको मुद्दालाई जोडदार रूपमा उठाउँदै आउनुभएको थियो।
सन् २०२३ अक्टोबरमा इजरायलबाट विपिन जोशी हमास समूहको अपहरणमा पर्नुभएको थियो। सरकारले उहाँको रिहाइका लागि निरन्तर कूटनीतिक प्रयास गरिरहेको छ।

