नभा फ्रेइबर्ग, जेरुशलेम। इजरायली रक्षा बल (आईडीएफ) का प्रमुख लेफ्टिनेन्ट जनरल आयल जमीरले हमासका नेताहरूलाई चेतावनी दिँदै विदेशमा रहेका उनीहरूलाई पनि नछाडिने बताएका छन् । उनले उत्तरी कमान्डमा आयोजित एक बैठकमा इजरायलले सबै क्षेत्रमा आक्रमण जारी राख्ने जानकारी दिएका हुन्।
हिजो(शनिबार) हौथी अधिकारीहरू र हमासका सैन्य प्रवक्ताको हत्यापछि आयोजित सो बैठकमा जमीरले भने, ‘आईडीएफले सबै क्षेत्र र समयमा आक्रामक रूपमा, पहलकदमीका साथ र सञ्चालनगत श्रेष्ठताका साथ काम गरिरहेको छ।’ आईडीएफको विज्ञप्तिअनुसार, उक्त बैठकमा गाजा अभियानलाई निरन्तरता दिनका लागि गुप्तचर जानकारीको समीक्षा र परिचालन योजनाबारे छलफल गरिएको थियो।
हमासका प्रवक्ता हुदैफा समीर अब्दुल्लाह अल-काहलुत (जो ‘अबु ओबेइदा’ को नामले पनि चिनिन्छन्) माथि गरिएको आक्रमणबारे बोल्दै जमीरले भने, ‘यो यमन, लेबनान, सिरिया र अन्य क्षेत्रमा आईडीएफले गरेका महत्त्वपूर्ण आक्रमणहरूको शृङ्खलाको निरन्तरता हो।’ उनले थपे, ‘यो अन्त्य होइन।’
‘हमासका अधिकांश बाँकी नेताहरू विदेशमा छन्, र हामी उनीहरूसम्म पनि पुग्नेछौँ,’ उनले कडा चेतावनी दिदै भने । गत जुलाई २०२४ मा इजरायलले तेहरानमा हमास नेता इस्माइल हानियालाई पनि मारेको थियो।
बन्धक बनाइएका इदान स्टिभी र इलान वेइसको शव फिर्ता ल्याउने विषयमा जमीरले भने, ‘हामी सबै जीवित र मारिएका बन्धकहरूलाई फिर्ता ल्याउनका लागि हाम्रा प्रयास र कार्यहरू जारी राख्नेछौँ।’
अक्टोबरमा गाजा सहर कब्जा गरी ‘हमास विरुद्धको लडाइँलाई गहिरो बनाउने’ सुरक्षा मन्त्रिपरिषद्ले स्वीकृत गरेको योजनाअनुसार ड्युटीमा खटिने रिजर्भिष्टहरूलाई धन्यवाद दिँदै उनले भने, ‘हाम्रो मिसन अझै पूरा भएको छैन।’
उत्तरी क्षेत्रका बासिन्दाहरूलाई सुरक्षाको वाचा गर्दै उनले केही युवाहरू भोलि ‘युद्ध सुरु भएपछि पहिलो पटक’ विद्यालय फर्किने र उत्तरी कमान्डले ‘प्रारम्भिक चरणमै खतराहरूलाई नष्ट गर्ने’ काम जारी राखेको जानकारी दिए।
-द टाइम्स अफ इजरायल

